सार्वजनिक शौचालय नजिकै फेला परेका नवजात शिशुलाई आमाकै जिम्मा लगाइयो

मकवानपुरको थाहा नगरपालिकामा सार्वजनिक शौचालय नजिकै रहेको झाँडीमा एक नवजात शिशु फेला परेका छन् ।

थाहा नगरपालिका–४ शिखरकोटस्थित सार्वजनिक शौचालय नजिकै रहेको झाँडीमा १० दिनको जस्तो देखिने नवजात शिशु (बालक) फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

नवजात शिशु फेला परेको खबर स्थानीय मार्फत् जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पालुङबाट गएको प्रहरी टोलीले नवजात शिशुको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा सुरक्षित राखिएको र अवस्था सामान्य रहेको जनाइएको छ ।

झाडीमा शिशु फेला परेपछि कहाँबाट, कसले छाड्यो भनेर खोजतलास गर्दै जाँदा स्थानीयले दिएको जानकारीका आधारमा शिशुकी आमा २८ वर्षकी मेनुका धिताललाई प्रहरीले पक्राउ गर्‍यो ।

प्रहरीका अनुसार झापाको अर्जुनधारा नगरपालिका-६ घर भई हाल काठमाडौँमा बसोबास गर्ने मेनुकाले आफ्नो १० दिनको शिशु झाडीमा फालेको स्वीकार गरेकी छन् । सानै उमेरमा विवाह गरेकी उनको श्रीमान्‌को ४ वर्षअघि गाडी दुर्घटनामा मृत्यु भएको थियो । दुई सन्तानकी आमा मेनुकाले तेस्रो सन्तानका रूपमा उक्त शिशु जन्माएकी थिइन् ।

मेनुकाले प्रहरीलाई दिएको बयानअनुसार उनको केही वर्षअघि फेसबुकमार्फत एक पुरुषसँग माया बस्यो । तिनै पुरषसँगको शारीरिक सम्पर्कबाट मेनुकाको पेटमा गर्भ रहन पुग्यो । तर यो थाहा पाउनासाथ फेसबुकमा मेनुकालाई ब्लक गर्दै ती पुरुष बेपत्ता भएका थिए ।

अहिले शिशुलाई मेनुकाको जिम्मा लगाइएको छ । मेनुकाले दिएको बयानका आधारमा ती युवकको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।