सरकारलाई प्रभावकारी बनाउन कांगेस–एमालेले गठन गरे संयन्त्र

Image

सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन ८ सदस्यीय संयन्त्र बनाएको छ ।

दुई दलका तर्फबाट चार–चारजना सदस्य रहने गरी गत सोमबार गठन गरिएको संयन्त्रलाई संघीय सरकार सञ्चालनमा समन्वय गर्ने जिम्मेवारी दिइएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

संयन्त्रमा कांग्रेसबाट महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् ।

त्यस्तै, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल रहेका छन् । एमाले–कांग्रेसले सरकारलाई सफल बनाउन केन्द्रमा मात्रै नभएर प्रदेश र जिल्ला तहमा समेत संयन्त्र बनाउने बताइएको छ ।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रभावकारी रुपमा सरकार सञ्चालन गर्न र सफल बनाउनका लागि संयन्त्र बनाएको बताइएको छ ।

गौतमका अनुसार प्रदेश र जिल्ला तहमा पनि समन्वय संयन्त्र बनाउने निर्णय भएको छ । उक्त निर्णय अनुसार एमालेबाट संयन्त्रमा रहने नेताहरु समेत टुंगिएको छ ।

प्रदेश तहको संयन्त्रमा पार्टी इन्चार्ज, अध्यक्ष र संसदीय दलको नेता सदस्य हुनेछन् । जिल्ला संयन्त्रमा इन्चार्ज, अध्यक्ष र सचिवलाई पठाउने मोडालिटी तयार भएको गौतमले बताए ।

कांग्रेसले भने प्रदेश र जिल्ला तहको संयन्त्रका सदस्यहरुबारे निर्णय लिन सकेको छैन ।