विजयको औपचारिक घोषणा नहुँदै भारत र इजरायलका प्रधानमन्त्रीले दिए ट्रम्पलाई बधाई

Image

अमेरिकाको राष्ट्रपतिमा जित निश्चित गरेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सामाजिक सञ्जाल एक्समार्फत बधाई दिएका छन् ।

हिजो भएको राष्ट्रपति निर्वाचनमा निवर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई पपिछ पार्दै ट्रम्प जितको नजिक पुगेका छन् । जितको नजिक पुगेसँगै उनले सम्बोधन गर्दै आफू राष्ट्रपति निर्वाचित भएको घोषणा गरेका छन् ।

ट्रम्पको घोषणापछि मोदीले लेखेका छन्, “मेरो मित्र डोनाल्ड ट्रम्पलाई ऐतिहासिक निर्वाचन जितेकोमा हार्दिक बधाई ।”

“तपाईंको अघिल्लो कार्यकालको सफलताहरू जस्तै म भारत–अमेरिकाको व्यापक विश्वव्यापी र रणनीतिक साझेदारीलाई अझ सुदृढ बढाउने गरी हाम्रा सहयोगलाई अगाडि बढाउन उत्सुक छु,” उनले भनेका छन्, “आउनोस् हामी हाम्रा जनताको हित, विश्वव्यापी शान्ति र स्थिरता तथा समृद्धिको लागि मिलेर काम गरौँ ।” 

यस्तै इजरायली प्रधानमन्त्री नेतान्याहूले पनि एक्समा आफू र पत्नी सारासँगै ट्रम्पको तस्बिर राख्दै उनको जितलाई इतिहासको सबैभन्दा ठूलो पुनरागमन भनेका छन् । उनले भनेका छन्, ‘प्रिय डोनाल्ड र मेलानिया ट्रम्प, इतिहासको सबैभन्दा ठूलो पुनरागमनको लागि बधाई । ह्वाइट हाउसमा तपाईको ऐतिहासिक फिर्ताले अमेरिकाको लागि नयाँ सुरुवात र इजरायल र अमेरिकाबीचको महान् गठबन्धनको लागि शक्तिशाली पुन: प्रतिबद्धता प्रदान गर्दछ। यो ठूलो विजय हो’ ।