फेरि बाढी: रेडियो मेलम्चीको भवन र चनौटेको रातो पुल बगायो (भिडियो)

सतर्क रहन तटीय क्षेत्रका बासिन्दालाई प्रशासनको अनुरोध

मेलाम्चीमा फेरि बाढीले स्थानीयका घर तर भौतिक संरचनामा क्षति पुगेको छ । शनिबार रातिदेखि आएको बाढीले मेलाम्चीस्थित रेडियो मेलाम्चीको भवन र चनौटेको रातो पुल बगाएको छ । स्थानीयका अनुसार रातको समयमा घर बगेको हो भने आज बिहान पौने ८ बजे पुल बगाएको हो ।

मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ ।

त्यस्तै बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ । नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ । यसअघि हेलम्बु गाउँपालिकाको नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई सो गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिबार राति नै सतर्क हुन अनुरोध गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार