काठमाडौँमा छठको रौनक सुरु, सिँगारिँदै गौरीघाट, कमलपोखरी (भिडियो)

Image

काठमाडौँ उपत्यकामा छठको रौनक सुरु भएको छ । तिहार सकिएलगत्तै काठमाडौँ उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थनमा छठका लागि तयारी सुरु गरिएको हो ।

छठ पूजाका लागि काठमाडौँका गौरीघाटलगायतका नदी किनारहरु सिंगारिएका छन् । चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरु नुहाय अरबा अरबाईन भोजन गर्ने गर्दछन् । छठपर्वको अवसरमा बिहीबार बेलुका अस्ताउँदै गरेको सूर्यलाई र शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । त्यसमा पनि बिहीबार बेलुका सूर्यास्त हुने बेलाको पूजालाई विशेष मानिन्छ । त्यसका लागि जलासयहरुमा पूजा सामग्री, फलफूल आदि जम्मा गरेर छटघाट निर्माण गरिन्छ ।

कमलपोखरी छठ पूजा समाजका अध्यक्ष राजेन्द्र सिंहले छठको तयारी भइरहेको र टेन्ट राख्ने काम लगभग सकिएको बताए । उनले कमलपोखरीमा २६० वटा बस्ने टेन्टहरु बनाएको तर बुकिङ गर्न आउनेहरुको सङ्ख्या तीन सयभन्दा बढी भइसकेको बताए । साढे तीन सयको सङ्ख्यामा राख्न सकिने उनले बताए ।

छठ पर्वमा श्रद्धालुहरु भगवान श्री सूर्यनारायणको पूजा गर्ने गर्छन् । गाउँगाउँमा रहेका पोखरीहरुमा समेत छठ पर्वलाई लिएर सरसफाईका साथै सजाउने कार्य भइरहेको छ ।