संसदीय समितिबाट सेवा लम्साल बेल्जियमको राजदूतमा अनुमोदित

परराष्ट्र सचिव सेवा लम्साललाई संसदीय सुनुवाइ समितिले बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन गरेको छ ।

बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले उनलाई सर्वसम्मतिले बेल्जियमका लागि राजदूत अनुमोदन गरेको हो । उनी अहिले परराष्ट्र सचिव छिन् । अब उनलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने बाटो खुलेको छ ।

उनी उपर आज संसदीय सुनुवाइ भएको थियो । समितिको बैठकमा लम्सालले आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् । उनलाई समितिले अनुमोदन गर्नुअघि नेपाली कांग्रेसका सांसद ज्ञानबहादुर कार्कीले देशको हितमा काम गर्न सक्नुहुन्छ भनेर प्रश्न सोधेका थिए ।

‘राजदूत भनेको अवकाशको जीवन जिउने भनिन्छ, देशको हितमा काम गर्नुहुन्छ,’ उनको प्रश्न थियो । त्यसको जवाफमा लम्सालले भनिन्, ‘मसँग भूराजनीतिमा काम गरेको अनुभव छ । देशको लागि मिल्ने कुरा गरेर देखाउँछु ।’

उनलाई मन्त्रिपरिषदको बैठकले सिफारिस गरेपछि संसदीय सुनुवाई समितिको बैठकले अनुमोदन गर्ने/नगर्ने विषयमा सुनुवाई गरेको थियो । भदौ १३ गते बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सिफारिस गरेको थियो । उनीविरूद्ध इसरायलका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठको उजुरी परेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार