लुम्बिनी प्रदेशका विपक्षी दलका नेताहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई भेट गरी वर्तमान सरकार अल्पमतमा रहेको ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले बहुमतको सरकार निर्माणका लागि पहल गर्न समेत प्रदेश प्रमुखसँग आग्रह गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडिया, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी, जनता समाजवादी पार्टीका संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाकी नेता तारा जिसीले संयुक्त रुपमा आज प्रदेश प्रमुख शेरचनलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
विपक्षी गठबन्धनले संवैधानिक र कानुनी मर्मअनुसार प्रक्रिया थाल्न पनि आग्रह गरेको छ । ध्यानाकर्षणमा वैशाख ६ मा अविश्वासको प्रस्ताव आएपछि मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिनुको साटो सरकारबाट राजीनामा दिएको, वैशाख २१ मा गैरकानुनी नियुक्ति भइ सरकार चलाएको उल्लेख छ । यस्तै आफूलाई संविधानको धारा १६८ को १ अनुसार सरकार बनाउन विमला खत्री वली, दीर्घनारायण पाण्डे र अम्मरबहादुर डाँगीको किर्ते हस्ताक्षर बुझाएको, असार ३१ मा जबरजस्त बजेट अधिवेशन अन्त्य गरी साउन १ मा अध्यादेशबाट बजेट ल्याएर एकपछि अर्को रुपमा संविधानलाई कमजोर बनाएको उनीहरुको दाबी छ ।
ध्यानाकर्षणपत्रमा भनिएको छ, “वर्तमान सरकारलाई विघटन गरी १६८(२) बमोजिम बहुमतको सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न आवश्यक पहलका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी गठबन्धन दलको तर्फबाट प्रदेश प्रमुखसमक्ष विनम्र अनुरोध गर्दछौँ ।” संविधानको गरिमा र प्रदेश प्रमुखलाई कमजोर पार्ने एवं असंवैधानिक प्रणालीमा लाग्ने सरकारको गलत नियतलाई सच्चाउन ध्यानाकर्षणपत्रमा आग्रह गरिएको छ ।