प्रधानमन्त्री देउवा र प्रचण्डको भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ । उनीहरुबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान ८ बजेबाट करिब आधा घण्टा छलफल भएको हो ।

स्रोतका अनुसार मन्त्रीमण्डललाई पूर्णता दिने र मन्त्रालय भागबण्डाका लागि देउवा र प्रचण्डबीच भेट भएको हो । कुन मन्त्रालय कसलाई दिने भन्नेबारेमा प्रमुख सत्ता साझेदार दुई दलबीच हालसम्म सहमति भइसकेको छैन ।

गत असार २९ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । काँग्रेस र माओवादीबाट २–२ मन्त्री र एक राज्यमन्त्रीका साथमा देउवाले सरकार चलाई राखेको अवस्था छ । २५ सदस्यीय मन्त्रिपरिषदमा १९ मन्त्री नियुक्त गर्न बाँकी छ ।

काँग्रेस, माओवादी, जसपा, माधव नेपाल समूह र जनमोर्चा सम्मिलित गठबन्धनबाट देउवालाई मन्त्री छान्न सकस परेको छ । यद्यपि जनमोर्चाले सरकारमा नजाने नीति लिएको छ भने नेपाल समूहले पनि ठोस निर्णय गरिसकेको अवस्था छैन । काँग्रेस, माओवादी र जसपा भने मन्त्री बन्न हानथाप चलिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार