कर्णालीमा खसेको जीप भेटियो, प्रकाश र रुवीको अवस्था अज्ञात

कैलालीको भजनी नगरपालिका–७ को चिसापानी–सोल्टा सडक खण्डबाट कर्णाली नदीमा खसेको जीप भेटिएको छ । जिल्ला सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार शुक्रबार साढे १२ बजेको समयमा कर्णाली नदीमा खसेको बा ११ च ९३८ नम्वरको जीप भेटिएको हो । तर सोही जिपमा सवार प्रकाश जोशी र उनकी श्रीमती रुवीको अवस्था भने अझै अज्ञात छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी उक्त गाडी खोज्न खटिएको छ। बेपत्ता दम्पतीको खोजी कार्य सशस्त्र प्रहरीको गोताखोर टीमले गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले बताए ।

‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले अबेर रातिसम्म खोजी गरेका थिए,’ उनले भने, ‘दुबै जना फेला नपरेपछि आज बिहानदेखि फेरि खोजी सुरु हुन्छ।’ उनका अनुसार दुर्घटनाग्रस्त जीप भने कर्णाली नदीमा टुक्राटुक्रा भएको अवस्थामा भेटिएको छ। ‘सडकबाट झण्डै तीन सडक मिटर तल नदीमा खसेको जीप टुक्राटुक्रा भएको छ। केही पार्ट निकालिएको छ। मुख्य पार्ट निकाल्न बाँकी छ,’ उनले भने।

जीपका चालक  डडेल्धुरा घर भई हाल  डोटीको आदर्श गाउँपालिकाका प्रकाश जोशी र उनकी श्रीमती रुवी  जोशी नदीमा बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको छ । दुर्घटनामा जोशीका छोरीहरु १३ वर्षीया लक्ष्मी, चार वर्षीया सावित्री र तीन वर्षीय छोरा भुवन घाइते भएका छन् । उनीहरु मध्ये भुवन र सावित्रीको अवस्था गम्भीर छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार