प्रशिक्षकको राजीनामाबारे एन्फाले गुहार्‍यो खेलकुद मन्त्रालय

अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवाद सुल्झाउन खेलकुद मन्त्रालयलाई अनुरोध गरेको छ ।

एन्फा कार्यसमितिको शुक्रबार बसेको आकस्मिक बैठकले स्वतन्त्र आयोग बनाएर वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षकको निवेदनबारे छानबिन गर्न मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको हो । सो बैठकमा प्रशिक्षक र नेम्वाङ दुवै एन्फासँग असन्तुष्ट बनेका थिए । बैठक निस्कर्षमा पुग्न नसकेपछि खेलकुद मन्त्रालयमा विवादलाई धकेलिएको छ ।

मुख्य प्रशिक्षक अल्मुतारीले १० साउनमा वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण राजीनामा दिन लागेको सामाजिक सञ्जाल फेसबुकमा लेखेपछि विवाद सतहमा आएको थियो ।

त्यही विवादमा वरिष्ठ उपाध्यक्ष नेम्वाङ र मुख्य प्रशिक्षक अल्मुताइरीले एकअर्काविरुद्ध छानबिनको माग गर्दै एन्फामा निवेदन दिएका थिए । वरिष्ठ उपाध्यक्ष नेम्वाङले एन्फाको आसन्न निर्वाचनलाई प्रभावित पार्ने गरी आफूमाथि आरोप लगाएको भन्दै यसबारे छानबिन गर्न माग गरेका थिए भने मुख्य प्रशिक्षक अल्मुताइरीले भने वरिष्ठ उपाध्यक्ष नेम्वाङ र दुई जना सञ्चारकर्मीले आफूलाई टर्चर दिएको र त्यसबाट असुरक्षीत महसुस गरेको अरोप लगाएका छन् । उनले एन्फाले आफ्नो सुरक्षा नगरेको समेत जनाएको बताइएको छ ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बैठकमा अलमुतारीलाई कारवाही गर्दा नेपाली फुटबललाई अप्ठेरो पर्ने बताएपछि नेम्बाङसहित उपाध्यक्ष कृष्णबहादुर थापा, वीरबहादुर खड्का र सदस्य दावा लामा बैठक छाडेर निस्केका थिए । त्यसअघि अलमुताइरीलाई पनि बैठकमा आफ्नो कुरा राख्न बोलाइएको थियो ।

वरिष्ठ उपाध्यक्ष र सञ्चारकर्मीको निवेदन वाचन गर्दा अलमुताइरी रिसाएर बैठकबाट निस्केको नेम्बाङले बताएका थिए ।

वरिष्ठ उपाध्यक्ष नेम्बाङ, प्रशिक्षक अलमुताइरी र दुई सञ्चारकर्मीले तीन पक्षले छानबिनका लागि अलग अलग निवेदन दर्ता गराएपछि एन्फाले शुक्रबारका लागि केन्द्रिय समितिको आपतकालीन बैठक बसेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार