महासचिव पोखरेलले भने- पार्टी एकताका लागि भन्दै अनन्तकालसम्म पर्खेर बस्न सकिँदैन

नेकपा एमालेका महासचिव इश्वर पोखरेलले पार्टी एकताका लागि भन्दै अनन्तकालसम्म पर्खेर बस्न नसक्ने बताएका छन् ।

शुक्रबार एमाले पार्टी कार्यालय थापाथलीमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले सहमति जुट्न बाँकी विषयमा छिटै सहमति जुटाउन पार्टी अध्यक्ष केपी ओलीले निर्देशन दिएको भन्दै अब अनन्तकालसम्म पर्खेर बस्न नसक्ने बताएका हुन् ।

पार्टीलाई मिलाउन अधिकतम कोसिसमा आफुहरु रहेको र अधिकतम कोसिस गर्ने नाममा अनिश्चिताको स्थिति रहन नहुने उनले बताए । महासचिव पोखरेलले कार्यदलले सहमति गरेका १० बुँदे कार्यान्वयन गरेर जानुपर्छ भन्नेमा नै आफुहरुको जोड रहेको धारणा राखेका छन् ।

‘पार्टीको विधि र विधानभन्दा फरक ढंगले हुन सक्दैन । पार्टी महाधिवेशनले पारित गरेको विधान छ, नियमावली छ । हामी २०७५ साल जेठ २ गते अघि जाने कुरा गरिरहेका छौं,’ उनले भने, ‘त्यसमा जाँदाखेरी त्यस बेलाको विद्यमान विधान र नियमावलीमा के छ रु त्यसले अनुमति दिने, त्यसले स्वीकार गर्ने, त्यसमा व्यवस्था भएका कुराहरूलाई नै सबैले पालना गर्नुपर्‍यो ।’

त्यस्तै महासचिव पोखरेलले शनिबार पार्टीको स्थायी कमिटी बैठक बस्ने र बैठकले विधान अधिवेशन लगायत विषयमा निर्णय लिने जानकारी दिए ।

एमालेको विवाद समाधानका लागि गठित कार्यदलले असार २८ गते १० बुँदे सहमति गरेको थियो, तर सहमतिमा नेताहरुबीच नै मतभेद रहेपछि विवाद समाधान हुन सकेको छैन । यद्धपी नेताहरुले भने सहमतिका लागि अधिकतम प्रयास गर्ने बताउँदै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार