कैलालीमा कर्णाली नदीमा जीप खस्दा दुई जना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो मोहन्याल गाउँपालिका–७ स्थित चिसापानी–सोल्टा कच्ची सडकखण्डबाट जीप कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ ।
जीप सडकबाट चाररपाँच सय मिटर तल कर्णाली नदीमा खसेको वडाध्यक्ष खरप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार तीन जना बालबालिका बाटोमा खसेर घाइते अवस्थामा भेटिएका छन् ।
कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जीपका चालक डोटीको आर्दश गाउँपालिकाका प्रकाश जोशी र उनकी श्रीमती रुपी जोशी नदीमा बेपत्ता भएको जानकारी दिएका छन् । उनीहरुको खोजी कार्य भइरहेको छ । दुर्घटनामा जोशीका छोरीहरु १३ वर्षीया लक्ष्मी, चार वर्षीया सावित्री र तीन वर्षीय छोरा भुवन घाइते भएका छन् । उनीहरु मध्ये भुवन र सावित्रीको अवस्था गम्भीर छ भने लक्ष्मी बोल्न सक्ने अवस्थामा छिन् ।
उनीहरुको लम्कीस्थित लालरत्न अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको उनले जानकारी दिए । नेपालगञ्जबाट उपचार गरेर फर्किने क्रममा सोल्टा घुम्न जाँदा उनीहरु दुर्घटनामा परेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
गाडी नदीमा खसेकोले नम्बरसमेत नखुलेको प्रहरीले जनाएको छ ।