लुम्बिनी प्रदेशप्रमुख अमिक शेरचनद्वारा पदभार ग्रहण

लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेशप्रमुख अमिक शेरचनले पदभार ग्रहण गरेका छन् । प्रदेशप्रमुखको कार्यालय बुटवलमा शुक्रबार दिउँसो उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि शेरचनले प्रदेशलाई संवैधानिक तरिकाले अगाडि बढाउने बताए । संविधानलाई आफूअनुकूल व्याख्या गर्ने वा संविधानविपरीत हिँड्ने अवस्था नआओस् भन्ने आमनागरिकको चाहना रहेकाले आफूले त्यसको पालना गर्ने उनले जनाए ।

शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुख हुन् । २०७४ साल माघ ७ गते लुम्बिनी प्रदेशको पहिलो प्रदेश प्रमुखको रूपमा उमाकान्त झालाई नेपाली कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको थियो । केपी ओली नेतृत्वको सरकार आएपछि झालाई पदमुक्त गरी धर्मनाथ यादवलाई नियुक्त गर्‍यो ।

प्रदेशप्रमुखको कार्यालयमा शेरचनलाई स्वागत गर्न कार्यालयका कर्मचारी र सुरक्षा निकायका प्रमुख सहभागी भएका थिए । माओवादी केन्द्रका नेता–कार्यकर्ता पनि उल्लेख्य संख्यामा थिए । सरकारका मन्त्री, प्रदेशसभा सदस्य, मन्त्रालयका सचिव भने उपस्थित थिएनन् ।

नयाँ प्रदेश प्रमुखले पदभार ग्रहण गरेसँगै लुम्बिनी प्रदेशसभाका विपक्षी दलहरुले विशेष अधिवेशनका लागि समावेदन गर्ने र मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने रणनीतिमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार