पूर्वमाओवादी नेताहरूको रिटमा आज पनि सुनुवाइ भएन
रिट निवेदक पक्षका कानून व्यवसयीकै आग्रहमा सुनुवाइ स्थगित
सांसद पदमा पुनर्बहाली माग गर्दै पूर्वमाओवादी केन्द्रका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनुवाइ आज पनि स्थगित भएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा उक्त मुद्दाको पेसी राखिएको भए पनि आज पनि सुनुवाइ स्थगित भएको हो ।
हिजो न्यायाधीश दीपक कार्कीको इजलासमा पेसी तोकिएको सो मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । सर्वोच्च अदालत स्रोतका अनुसार रिट निवेदक पक्षका कानून व्यवसयीकै आग्रहमा सुनुवाइ स्थगित गरिएको हो ।
नेकपा माओवादी केन्द्रको कारवाहीका आधारमा पदमुक्त भएका नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए । चारै नेताले सांसद् पदमा पुनर्बहालीको माग गरेका छन् ।