क्रियाशील सदस्यता विवाद मिलाउन देउवा, पौडेल र सिटौला छलफलमा

नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यताबारे विवाद हल गर्न सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ११.३० बजेबाट छलफल सुरु भएको हो । यी शीर्ष तीन नेतामाथि पाँच दिनको समयभित्र टुंगो लगाउनुपर्ने मुख्य तीन जिम्मेवारी छ ।

पहिलो जिम्मेवारी बारा र सप्तरी जिल्लामा नयाँ क्रियाशील सदस्यताबारे निर्णय गर्ने हो । यी जिल्लाबाट ढिलो गरी विवरण आएको भन्दै क्रियाशील सदस्यता छानविन समितिले फाइल नै खोलेको छैन । यस्तै धनुषा, सर्लाही, सिन्धुपाल्चोक र रसुवाका केही वडासहित करिब एक सय वटा वडामा विवाद छ ।

केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले विवाद हल गर्न नसकेका विषय शीर्ष नेतृत्वलाई सुम्पेका थिए ।

विवाद हल गर्न नसक्दा साउन १२ मा हुने वडा अधिवेशन स्थगित छ । अधिवेशनका लागि अर्को मिति तोकिएको छैन ।

क्रियाशीलमा धाँधली भएको भन्दै बाराका नेता तथा कार्यकर्ता केन्द्रीय कार्यालय सानेपामा २० दिनदेखि धर्ना दिइरहेका छन् । यस्तै आफूहरूले पठाएका सबै क्रियाशीललाई सदर गर्न कार्यालयमै बाराका सभापतिसहितले काउन्टर धर्ना जारी राखेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार