सीतापाइलामा चारवटा सवारीसाधन एकापसमा ठोक्किए

काठमाडौंको सीतापाइलामा चारवटा सवारीसाधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।

मंगलबार साढे ११ बजे आसपास सीतापाइला चोकनजिकै मोटरसाइकल, कार, बस र डीआई गाडी एकापसमा ठोक्किएका हुन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीका अनुसार दुर्घटना ठूलो भए पनि क्षति भने कमै भएको छ । मोटरसाइकल चालक सामान्य घाइते छन् । ताप्लेजुङ सिजङ्गा गाउँपालिका–४ घर भई हाल जिल्ला काठमाडौंको कलंकी बस्ने ५० वर्षीय हर्कबहादुर खड्का घाइते भएका हुन् ।

बा१६च ६३३७ नम्बरको कार र बा प्र ०२ ०३४ प ४३०२ नं मोटरसाइकल सँगसँगै गुडिरहेका थिए । मोटरसाइकलले कारलाई ओभरटेक गर्न खोज्दा कारले ब्रेक लगाएको थियो ।

त्यही बेला पछाडि गुडिरहेको बा४ख ८९७२ नम्बरको महानगर यातायातले कारलाई ठक्कर दिएको हो ।

कारलाई ठक्कर दिएपछि मोटरसाइकल कारको टायरमुनि परेको छ भने पछि सोही कार विपरीत दिशाबाट आउँदै गरेको बा१०च ८७७५ डिआई गाडीमा पुन ठोक्किएको हो ।

घाइते भएका मोटरसाइकल चालक खड्काको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार