नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीमाथि अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणको कार्यालयमा छापा मारेको छ । आयोगको टोलीले बुधबार सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा छापामारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।
महानिर्देशक अधिकारीले प्राधिकरणको नेतृत्वमा रहेर चरम अनियमितता गरेको विषयमा अख्तियारले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा आज प्राधिकरणको कार्यालयमा छापा मारेको हो । ‘विभिन्न विमानस्थल निर्माणको परियोजना र नागरिक उड्डयन प्राधिकरणको भवन निर्माणको अनियमितताबारे उजुरी अनुसन्धानको सिलसिलामा कागजात माग भएको थियो’ अख्तियार स्रोतले भन्यो,‘तर कतिपय महत्त्वपूर्ण कागजात उपलब्ध नगराएपछि कार्यालयमा पुगेर छापा मारेर कागजात लिनुपरेको हो ।’
अनियमिततामा संलग्न भएको आशङ्कामा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । लामो समयदेखि भइरहेको अनुसन्धानका क्रममा अधिकारीले अख्तियारको कार्यालय टंगालमा पुगेर बयान समेत दिएका छन् । बयानपछि अधिकारीले अख्तियारका प्रमुख आयुक्त प्रेम राई लगायतका केही आयुक्तहरूलाई ललितपुरको रिभाईभमा बोलाएर उनीहरूको चित्त बुझाएकाले अनुसन्धान डिसमिस हुने दाबी आफु निकटसँग गर्ने गरेका छन् । यद्यपि उनले गरेको दाबीजस्तै गरि अनुसन्धान भने रोकिएको छैन ।