मनकला हत्या प्रकरण : १५ र ११ वर्षीय दुई जना नाबालक पक्राउ

रुकुम पश्चिम — त्रिवेणी गाउँपालिका–४ की २६ वर्षीया मनकला खत्री खड्काको हत्या गरेको आरोपमा प्रहरीले दुई जना नाबालकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या आरोपमा १५ र ११ वर्षका दुई जना नाबालक पक्राउ परेका हुन् ।

गएको सोमबार राति मनकलाको त्रिवेणी गाउँपालिका–३ मा मकैबारीमा हत्या भएको थियो । घर नजिकै रहेको गोठमा भैँसीलाई घाँस हाल्न गएकी मनकला रातिसम्म घर नफर्केपछि उनको खोजी भएको थियो । मनकलाको शव गोठबाट फर्कने बाटो भन्दा तीन कान्ला तल भेटिएको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ब्युरो टोली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले अनुसन्धान गर्दै जाँदा नाबालकद्वयले धारिलो हतियार (खुर्पा) प्रहार गरी मनकलाको हत्या गरेको खुल्न आएको जिल्ला
प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए ।

घरभन्दा करिब २ सय मिटर टाढा रहेको भैंसीगोठमा घाँस हालेर फर्कने क्रममा उनीमाथि आक्रमण भएको अनुमान गरिएको छ । उनको शव टाउकामा धारिलो हतियार प्रयोग गरिएको, एउटा कान काटिएको र घाँटीमा रातो डाम बसेको अवस्थामा भेटिएको थियो ।

उनीहरुले मनकलाको हत्या गरी मकै बारीमा फालेर मृतकको नाक, कानमा भएका सुनका गरगहनासमेत लिएको डीएसपी श्रेष्ठले बताए । १५ वर्षीय बालकको घरबाट सुनको कानबाली दुई थान, मुन्द्री दुई थान, नाकको फुली एक थान र हँसिया (खुर्पा) एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका एकजना आफ्नै परिवारका जेठाजुका छोरा (भतिजा) पर्ने पनि रहेको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार एक वर्षदेखि मन्कला र ती युवकको घर बीच बोलचाल बन्द रहेको थियो । मनकला र उनका जेठाजुका १५ वर्षीय छोराका बीचमा उति राम्रो बोलचाल पनि थिएन। ती १५ वर्षीय भतिजले मनकलाको घरबाट नगद रुपैयाँ चोरी गरेका थिए।

मनकलाले उनलाई ‘चोर’ भन्ने गर्थिन्। प्रहरीका अनुसार माइला जेठाजुको भन्दा मनकलाको घरको आर्थिक अवस्था मजबुत भएको हुँदा उनका भतिजाले पटक–पटक उनको घरबाट चोरी गर्ने गरेका थिए । मनकलाले ‘चोर’ भन्ने गरेको हुँदा भतिज ‘इगो’ पालेर बसेका थिए। र त्यहीँ‘ रिसिइबीका कारण मनकलाको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मनकलाको श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार