नवराज विकको हत्याका आरोपीलाई संरक्षण गरेको भन्दै अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग

नवराज विकको हत्याका आरोपीलाई संरक्षण गरेको भन्दै जातीय विभेदविरुद्ध राष्ट्रिय अलायन्सले अर्थमन्त्रीबाट जनार्दन शर्मालाई बर्खास्त गर्न माग गरेको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अलायन्सले अपराधीको पक्षमा बोलेकामा सार्वजनिक माफी माग्नुपर्ने, मृतकहरुलाई शहीद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई रोजगारी र गाँसबाँसको व्यवस्थासहितको ३ बुँदे मागसमेत राखेको छ । नवराज विकसहित ६ जना दलित युवाहरुको निर्मम हत्या हुँदा पनि मन्त्री शर्माले दोषीलाई कारबाही गर्नुको सट्टा जोगाएको अलायन्सको आरोप छ ।

पत्रकार सम्मेलनमा बोल्दै अलायन्सका संयोजक डा. मित्र परियारले नेताहरु सत्ता, पद र व्यक्तिगत स्वार्थको लागि लिप्त भएको आरोप लगाए । अन्तरजातिय विवाहको आरोपमा भेरी नदीमा फालेको भन्दै राज्यले अपराधी जोगाएको उनको आरोप छ ।

कार्यक्रममा बोल्दै अलायन्सका दलमर्दन कामीले जातिय विभेदविरुद्ध लाग्नुपर्ने जिम्मेवार व्यक्ति अर्थमन्त्री जनादर्न शर्माले हत्यारालाई संरक्षण गरेको बताए । अलायन्सका अर्का संयोजक चन्देश्वर दासले दलित समुदाय तिरस्कृत मानिसको व्यक्तिगत दुस्मनीले नभएर धर्मको कारण भएको जिकिर गरेका छन् ।

चौरजहारस्थित सोती गाउँमा गएको वर्ष जाजरकोटका नवराज विक लगायत ६ जना युवाहरुको हत्यामा सलंग्न भएकाहरुको संसदमै बचाउ गरेपछि उनको आलोचना भएको थियो । संघीय संसदमै त्यतिबेला शर्माले ‘दलितका कारण घटना भएको, युवाहरुले भेरीमा हाम फाल्दा डुबेर ज्यान गुमाएको’ बताएका थिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार