सांसद पदमा पुनर्बहाली माग गर्दै पूर्व माओवादी केन्द्रका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ। टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको मुद्दा न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएको छ।
उनीहरुले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए। चारै नेताले सांसद् पदमा पुनर्बहालीको माग गरेका छन्। उनीहरूले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरूको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने जिकिर गरेका छन्।
माओवादी छाडेर एमाले प्रवेश गरेपछि माओवादीले दिएको दल त्यागको सूचना दिएपछि उनीहरुको सांसद पद गुमेको थियो । यद्यपि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई मन्त्री बनाएका थिए । भट्ट कैलाली क्षेत्र नम्बर-४, रायमाझी अर्घाखाँची, साह रौतहट-३ र चौधरी कैलाली-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।