नेपालमा दैनिक सात महिला बलात्कृत, ११० गम्भीर घटना

मुलुकमा जनचेतनामूलक कार्यक्रम र प्रहरीको सक्रियता बढे पनि बलात्कार (जबर्जस्ती करणी) र ज्यानसम्बन्धी अपराध घट्न सकेको छैन ।

कोभिड–१९ का कारण मुलुक आक्रान्त भई बन्दाबन्दीमा रहँदासमेत जघन्य प्रकृतिका घटना बढोत्तरी हुनुले अवस्था चुनौतीपूर्ण देखाएको छ । नेपाल प्रहरीका अनुसार विभिन्न ११ जघन्य तथा गम्भीर प्रकृतिका घटनामध्ये अधिकांश घटनाका मुद्दा दर्ता गर्ने क्रम बढेको छ ।

नेपालमा दैनिक ११० गम्भीर प्रकारका घटना हुने गरेको पाइएको छ । तीमध्ये सबैभन्दा बढी १७ दशमलव ४४ प्रतिशत आत्महत्याका घटना रहेका छन् । गत वर्ष दैनिक १९ जनाले आत्महत्या गर्ने गरेका पाइएको छ । यस्तै दैनिक सात महिला तथा बालिका जबर्जस्ती करणीमा परेका छन् । यद्यपि समग्र घटना सङ्ख्या हेर्दा जघन्य र गम्भीर प्रकृतिका घटना दर्तामा केही कमी आएको देखिन्छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले समग्र जघन्य प्रकृतिका घटना केही प्रतिशतले घटेको तर कर्तव्य ज्यान, जबर्जस्ती करणी, आत्महत्यालगायतका घटना भने बढेको बताउनुभयो । प्राप्त विवरणअनुसार आव २०७६÷७७ मा कर्तव्य ज्यानका ५५५ घटना भएकामा आव २०७७÷७८ मा यसमा वृद्धि ६९७ पुगेको छ । यो आव २०७६÷७७ को तुलनामा गत आर्थिक वर्षमा २५ दशमलव ५८ प्रतिशतले वृद्धि हो । त्यसको अघिल्लो दुई आर्थिक वर्षभन्दा पनि यसपालि कर्तव्य ज्यानसम्बन्धीका घटनामा वृद्धि भएको नेपाल प्रहरीले जनाएको छ ।

गत आर्थिक वर्षमा जबर्जस्ती करणीका घटना पनि झण्डै २१ प्रतिशतले वृद्धि भएको छ । आव २०७६÷७७ मा दुई हजार १४४ करणीका मुद्दा दर्ता भएकामा गत आवमा बढेर दुई हजार ५३४ पुगेको छ । त्यसको अघिल्लो दुई आवमा क्रमशः एक हजार ४८० र दुई हजार २३० करणीका मुद्दा दर्ता भएको प्रहरीको अभिलेख छ ।

प्रहरी प्रवक्ता कुँवरले जबर्जस्ती करणीका घटना भने नजिकका र चिनेजानेका व्यक्तिबाट नै हुने गरेको बताउनुभयो । “उनीहरुबाट ८२ दशमलव २० प्रतिशत महिला करणी भएका छन्”, उनले भने , “अझ सबैभन्दा बढी ११ देखि १८ वर्षका बालिका करणीमा पर्ने गरेका देखियो ।” उहाँका अनुसार कूल जबर्जस्ती करणीका घटनामध्ये उक्त उमेर समूहका ५३ दशमलव २४ प्रतिशत बालिका बलात्कृत हुन्छन् । झण्डै १२ प्रतिशत १० वर्षमुनिका बालिकामाथि बलात्कार हुने गरेको तथ्याङ्क प्रहरीसँग छ ।

जबर्जस्ती करणी र कर्तव्य ज्यानसहित आत्महत्या, ज्यान मार्ने उद्योग, लागुऔषध तथा बैंकिङ कसुरसम्बन्धीका घटना भने अघिल्लो आवभन्दा गत आवमा बढेको पाइएको छ । प्रहरीको सार्वजनिक अभिलेखानुसार आत्महत्या १४ दशमलव चार प्रतिशतले बढेको छ । आव २०७६÷७७ मा आत्महत्याका छ हजार २४१ घटना भएकामा आव २०७७÷७८ मा बढेर सात हजार ११७ पुगेको छ । यस हिसाबले नेपालमा दैनिक १९ ले आत्महत्या गरेका छन् ।

जबर्जस्ती करणी उद्योग पनि छ दशमलव ९९ प्रतिशतले बढेको छ । लागुऔषधसम्बन्धी घटना चार दशमलव ४४, बैंकिङ कसुर २८ दशमलव २९, ज्यान मार्ने उद्योग २० दशमलव ९४ प्रतिशतले बढेको छ ।

मानव बेचबिखन र सङ्गठित अपराध घट्यो

नेपाल प्रहरीले मानव बेचबिखन तथा सङ्गठित अपराध, चोरी, साइबर अपराधका घटना दर्ता भने घटेको छ । गत वर्ष सबैभन्दा बढी ४६ दशमलव १५ प्रतिशतले सङ्गठित अपराधका घटनामा कमी आएको छ । अघिल्लो वर्ष प्रहरीमा उक्त अपराधका २६ घटना दर्ता भएकामा गत वर्ष घटेर १४ मा झरेको छ ।

मानब बेचबिखनतर्फ २५ दशमलव छ प्रतिशतले अपराध घटेर १२२ मा झरेको छ । अघिल्लो वर्ष १६४ बेचबिखनका मुद्दा दर्ता भएको थियो । यस्तै चोरीका घटना दुई दशमलव ८२ र साइबर अपराधका ११ दशमलव ११ प्रतिशतले घटेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीद्वारा प्रगति प्रतिवेदन सार्वजनिक

प्रहरी प्रधान कार्यालयले आज पत्रकार सम्मेलनमार्फत गएको वर्ष गरेका काम कारवाही तथा प्रहरी सुधारसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ ।

उक्त समारोहमा प्रहरी नायब महानिरीक्षक वसन्त लामाले प्रहरी प्रधान कार्यालय कानूनले दिएको अधिकार प्रयोग गर्दै अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न सक्रिय भएर लागेको जानकारी दिए । उनले कार्ययोजनाका साथ प्रहरी सुधारका कार्यक्रमसमेत सँगसँगै लगिएको बताएका छन् ।

पत्रकार भेटघाटनका क्रममा गृह प्रशासन सुधार योजना २०७४ को कार्यान्वयनको अवस्था, विभिन्न तहमा भएको कार्यसम्पादन सम्झौता, प्रहरी हवल्दार तथा जवानको उत्प्रेरणा अभिवृद्धि कार्यक्रम, प्रहरी आचारसंहिता कार्यान्वयन र गुनासा सम्बोधनका सवालमा भए गरेका प्रगति विवरणबारे जानकारी गराइएको थियो ।

समारोहमा कोभिड–१९ को महामारीका बेला प्रहरीले खेलेको भूमिका, विपद्का घटनामा प्रहरीले गरेको काम कारवाही, आपराधिक गतिविधि र त्यसका नियन्त्रणका प्रयास, हातहतियार बरामद, राजस्व सङ्कलन तथा सवारी दुर्घटना र त्यसको न्यूनीकरणमा प्रहरीले खेलेको भूमिकाका बारेमा पनि जानकारी गराइएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार