बैंक खाता रोक्का तथा फुकुवा गर्ने कार्यलाई व्यवस्थित बनाउन नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली २०८१ जारी गरेको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा खोलिएको खाता रोक्का राख्न तथा त्यसरी रोक्का रहेका खाता फुकुवा गर्ने कार्यलाई स्पष्ट तथा पारदर्शी बनाउनका लागि विनियमावली जारी गरेको हो ।
विनियमअनुसार बैंकका ग्राहकको खाता तीन प्रकारले रोक्का हुनेछ । सम्पूर्ण खाता रोक्का, निश्चित खाता रोक्का र आंशिक खाता रोक्का गरी तीन प्रकारबाट बैंकका खाता रोक्का गर्न सकिनेछ ।
विनियमावलीका अनुसार ग्राहकको सम्पूर्ण खाता रोक्का गर्दा इजाजतप्राप्त संस्थाहरुमा खोलिएका जुनसुकै खाताबाट रकम झिक्न वा कारोबार गर्न नपाईने व्यवस्था छ भने निश्चित खाता रोक्कामा कुनै निश्चित बैंक वा वित्तीय संस्थामा रहको खाताबाट कारोबार गर्न नपाउने व्यवस्था गरिएको छ ।
यस्तै आंशिक खाता रोक्काअन्तर्गत भने ग्राहकको खातामा रहेको निश्चित रकम मात्रै रोक्का गरेर राख्न मिल्ने व्यवस्था गरिएको हो ।
राष्ट्र बैंकले खाता फुकुवा गर्नका लागि पनि राष्ट्रबैंकबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको हो । तर अदालतबाट फुकुवा गर्नुपर्ने आदेश आएको खण्डमा भने राष्ट्र बैंकबाट स्वीकृति लिन नपर्ने व्यवस्था गरिएको हो ।