असोज २ गते बस्ने बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।

सत्ता गठबन्धन परिवर्तन भएसँगै साउन ११ गते सरकारबाट बाहिरिएको माओवादी केन्द्रले यही भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा कांग्रेससहितको सरकार छ ।

कोशी प्रदेशसभामा ९३ सदस्य छन्, जसमा एमालेका ४० र कांग्रेसका २९ सदस्य रहेका छन् । यस्तै यहाँ माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना छन् ।

गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलोपटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए । असोज २ गते दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने कार्यतालिका छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार