राष्ट्र संघमा राख्ने विषयबारे प्रधानमन्त्रीले संसदमा भने– छुद्र छिमेकी बन्न चाहन्नौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले असल छिमेकीको रूपमा छिमेक सम्बन्ध कायम राख्न चाहेको बताएका छन् ।

अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन जानुअघि सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले नेपालले उठाउने विषयबारे सदनमा जानकारी गराएका छन् । त्यस क्रममा उनले छिमेक सम्बन्धका विषयमा पनि कुरा राख्ने बताएका छन् ।

“असल छिमेकीको रूपमा छिमेक सम्बन्ध कायम राख्न चाहन्छौँ । छुद्र, जाली छिमेकी होइन । असल छिमेकीको रूपमा, अहित चिताउने छिमेकीको रूपमा होइन, छिमेकीको हित चिताएर काम गर्ने भएर बस्न चाहन्छौँ । र त्यस्तै व्यवहार छिमेकीहरूबाट पनि चाहन्छौँ,” प्रधानमन्त्री ओलीले भने ।

सम्बोधनका क्रममा आफू राष्ट्रसंघमा सहभागी हुनेबारे जानकारी गराउन सदनमा आएको उनले बताए । “नेपालका आफ्ना दृष्टिकोण, अडान, समस्या, उपलब्धि छन् । अगाडि बढ्नुपर्ने अभिभारा छन् । हामी के प्रयास गरिरहेका छौँ यस सन्दर्भमा त्यो कुरा विश्वलाई जानकारी गराउने छौँ । बाह्य समाजसँग कसरी हातेमालो गरेर अघि बढ्ने भन्ने नेपालको तर्फबाट मैले प्रस्तुत गर्नेछु,” उनले भने ।

नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र स्वाधिन राष्ट्र भएकोले यसको राष्ट्रिय गौरवलाई अझ माथि उठाउने काम आफूबाट हुने उनले जनाए ।

आफ्ना जायज राष्ट्रिय हितहरू, न्यायोचित राष्ट्रिय हितहरू र अन्तर्राष्ट्रिय उत्तरदायित्वभित्र रहेर पूरा गर्ने कुरा, रक्षा, सम्वर्द्धन गर्ने कुरामा राष्ट्र हितलाई तलमाथि पर्न नदिने प्रतिबद्धता राष्ट्रसंघमा जनाउने उनले बताए ।

कसैसँग छैन शत्रुता, सबैसँग छ मित्रता भन्ने नीतिबाट नेपाल निर्देशित रहेको प्रधानमन्त्री ओलीले बताए । “संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्न आन्दोलन सिद्धान्तहरू, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, कसैको सार्वभौमसत्तामा दखल नदिने र आफ्नो स्वतन्त्र हैसियतमा हुने हस्तक्षेप पनि अस्विकार गर्ने नेपालको स्थापित नीति छ । यो कुरा म संयुक्त राष्ट्रसंघमा राख्नेछु,” प्रधानमन्त्री ओलीले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार