राष्ट्रपति भण्डारीद्धारा युद्ध सङ्ग्रहालयको उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको बुधबार बिहान उदघाटन गरेकी छन् । बिहान हेलकप्टर चढेर सिन्धुलीमाडी पुगेकी भण्डारीले रिबन काटेर युद्ध संग्रहालयको उद्घाटन गरेकी हुन् ।

नेपालकै पहिलो सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको आज यहाँ समुद्घाटन गर्दै उनले सङ्ग्रहालयलाई विश्वसामु चिनाउन नेपाली गौरवको विषय हो भनिन। यसलाई पर्यटकीयस्थलमा विकास गर्न सकिने र पर्यटन प्रवद्र्धनमार्फत आर्थिक लाभ लिन सकिने बताइन ।

नागरिक र सैनिक सम्बन्धको उत्कृष्ट नमूनाका रुपमा सङ्ग्रहालय रहेको बताउँदै अनुसन्धानकर्ता, विद्यार्थी एवं स्वदेशी र विदेशी पर्यटककका लागि गन्तव्य स्थलका रुपमा विकास गर्न सकिने राष्ट्रपतिले बताएकी छिन् ।

एकीकरणका घटना र विषयलाई पाठ्यक्रममा समावेश गरी राष्ट्रिय एकता प्रवद्र्धन गरिनुपर्नेमा राष्ट्रपतिको जोड थियो ।

नेपाली सेनाले करिब रु सात करोड लगानीमा युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न गरेको हो । सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागन–सिद्धगढी जेभी कोटेश्वरले गरेको थियो । भवनको डिजाइन आर्किटेक्निक डेभलपमेन्टले गरेको हो । यस्तै भित्री सजावटको काम अल्टरनेट इन्फ्रास्ट्रक्चर प्रालि धुलिखेलले गरेको छ ।

सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्र, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, बेलायती योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ ।

सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको विसं २०७३ कात्तिक २४ गते पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेका थिए। नेपाल एकीकरणका क्रममा विसं १८२४ असोजमा सिन्धुलीगढीको युद्धमा काठमाडौँ कब्जा गर्न इष्टइन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको जानकारहरु बताउँछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार