दक्षिण–पश्चिम हाइटीमा शनिबार एउटा इन्धन ट्यांकर विस्फोट हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
मिरागोएनमा भएको विस्फोटमा परी करिब ४० जना घाइते छन् । केही घाइतेको शरीरका अधिकांश भाग जलेको हाइटीको नागरिक सुरक्षा निकायका प्रमुख इमानुएल पियरेले एएफपीसँग बताए ।
पियरेका अनुसार, उद्धारकर्ताले विस्फोटस्थलनजिकै जलेका थप आठ शव फेला पारेपछि मृतकको संख्या २४ पुगेको हो । शनिबार दिइएको जानकारीमा दुर्घटनाका कारण १६ जनाको मृत्यु भएको जनाइएको थियो ।
घाइतेलाई राजधानी पोर्ट–ओ–प्रिन्सबाट करिब १०० किलोमिटर पश्चिममा रहेको बन्दरगाह सहर मिरागोएनस्थित सेन्ट थेरेसी अस्पतालमा उपचारका निम्ति लगिएको छ । ६ जनालाई पोर्ट–ओ–प्रिन्सको विशेषज्ञ अस्पतालमा लगिएको छ ।
अरू १३ जनाको शरीरका ८० प्रतिशतभन्दा बढी भाग जलेको कारण यातायात असम्भव भएकाले सेन्ट थेरेसी अस्पतालमा नै उपचार भइरहेको छ ।