जाजरकोटमा अरिंगालले टोक्दा एक पुरुषको मृत्यु भएको छ ।
बारेकोट गाउँपालिका–५ पाखागाँउ घर भएका ४२ वर्षीय पृथ्वी विक्रम शाहीको अरिंगालको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
शुक्रबार राति घर नजिकै ग्राजको रुखमा अरिङ्गाल पोल्न गएको बेला अरिंगालले टोक्दा शाही गम्भीर घाइते भएका थिए ।
शाहीलाई उपचारको लागि स्थानीय र प्रहरी टोलीले स्वास्थ्य चौकी लिम्सा जाजरकोट पुर्याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागिनगर अस्पताल दल्ली लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार दल्ली अस्पतालका चिकित्सकले शनिबार शाहीलाई मृत घोषणा गरेका हुन् ।