धनराजले श्रीमतीसँग ‘सहकारी डिभोर्स’ गरेको समितिको निष्कर्ष, सहकारीका अध्यक्षले भने – गुरुङ आफैँ ऋण तिर्ने गर्थे (भिडियो)
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले ललितपुरको महालक्ष्मीस्थानमा मितेरी बचत तथा ऋण सहकारी संस्थाको स्थलगत निरीक्षण गरेको छ । निरीक्षणका क्रममा समितिका पदाधिकारीहरुले सो सहकारीका अध्यक्ष कुम्भराज गुरूङसँग छलफलसमेत गरेको छ ।
मितेरी सहकारी अहिले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग जोडिएर चर्चामा छ । धनराजकी तत्कालीन श्रीमती ज्योति गुरुङ सो सहकारीको सञ्चालक थिइन् । मितेरीबाट धनराज र उनकी तत्कालीन श्रीमती ज्योतिले १५ करोड अपचलन गरेको आरोप छ ।
अनुगमनका क्रममा कांग्रेस उपसभापति गुरुङले सहकारीमा आफ्नो संलग्नता नभई पूर्वश्रीमतीको मात्र संलग्नता रहेको दाबी गरेपनि झण्डै ८१ लाख रुपैयाँ ऋण तिरेको खुलेको छ । छानविन समिति समक्ष पनि कुम्भराजले वास्तविक डिभोर्स नभई सहकारी डिभोर्स रहेको टिप्पणी गरेका छन् । ‘धनराजले आएर तिरेको । धेरै भएको छैन, एक महिना जति भयो होला । डिभोर्सको कुरै नगर्नुस् । डिभोर्स भएकै होईन वास्तविक,’ कुम्भराजले भनेका छन् ।
समितिका सभापति सूर्यबहादुर थापालगायत निरीक्षणमा गएका पदाधिकारीहरुले अध्यक्ष कुम्भराजसँग सो सहकारीबाट धनराज र ज्योतिले गरेको अपचलनको बारेमा प्रश्न गरेका थिए । मितेरीका अध्यक्ष कुम्भराजले धनराज र ज्योतिले हिनामिना गरेको रकम फिर्ता भएमा सबै बचतकर्तालाई बचत फिर्ता गर्न सकिने बताए ।
उनीहरुबीच ०७६ सालमै डिभोर्स भएको भनिए पनि धनराजले केही महिनाअघि आएर ज्योतिको केही ऋण तिरेको अध्यक्ष कुम्मराजले बताए ।
सहकारीका अध्यक्ष कुम्भराजले समितिमा धनराज र उनकी श्रीमती ज्योति सगोलमा रहँदाका बखत रकम दुरूपयोग भएको बयान दिएपछि उनले ऋण लिएको खुलेको थियो । कांग्रेस उपसभापति समेत रहेका धनराज र उनकी श्रीमती ज्योतिमाथि सहकारीको १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । सांसद गुरूङले ज्योति गुरूङसँग सम्बन्ध विच्छेद भइसकेकाले उनले गरेका गतिविधिसँग आफ्नो नाम मुछ्नु अन्यायपूर्ण हुने जिकिर गरेपनि सम्बन्ध विच्छेदपश्चात पनि गुरुङ आफैँ सहकारी पुगेर किस्ता तिरेको खुलेको हो ।
छानविन समितिमा बयान दिएपछि ललितपुरको महालक्ष्मीस्थानस्थित कुम्भराजले ज्योति गुरुङसहित पाँचजनाविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा जाहेरी दिएका छन् । प्रारम्भिक अनुसन्धानमा गुरुङकी पूर्वपत्नी ज्योतिले सहकारीको रकम विदेश लगेको हुन सक्ने आशंका गरेको छ ।