प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले नेकपा एमालेका सांसदहरुले प्रयोग गरेको हिंसा शब्द संसद्को रेकर्डबाट नहटाएसम्म सदन चल्न नदिने अडान राखेको छ ।
संसदीय दलको बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले नेकपा एमालेका सांसदहरुले जनयुद्ध, संघीयता र गणतन्त्रविरुद्ध जसरी अभिव्यक्ति दिएका छन् त्यो शब्दमा मात्रै नभएर नियतमा होच्याउने शैलीको भएको भन्दै संसद्को अवरोध कायमै राख्ने निर्णय गरेको जानकारी दिए ।
“शान्ति सम्झौतादेखि सबै कुरालाई अपमान गर्ने गरेर संघीयता, गणतन्त्रसहितको संविधान सबैलाई अपमानित गर्ने काम एमालेका माननीय योगेश भट्टराईले अभिव्यक्ति दिनुभयो,” उनले भने, “हामीले प्रतिवाद पनि गरेका हौँ । जे गर्यौँ ठिक गर्यौँ । हिंसा शब्दमात्रै केन्द्रित गरेर आयो । जनमुक्ति सेना, जनयुद्धलाई अपमानित गरेको कुरा आयो । ३० गते बैठक बोलाइएको छ । तर समस्याको समाधान नहुँदासम्म अवरोध निरन्तरता दिने निर्णय भएको छ।”
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि ‘हिंसा’शब्दलाई लक्षित नभई समग्र माओवादी आन्दोलनप्रति लक्षित रहेकाले संसद अवरोध सहि भएको धारणा राखेका छन् ।
सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने निर्णय सुनाएपश्चात माओवादीले त्यसको विरोध गरेको थियो । संसद्को बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई हिंसाको टिप्पणी गरेपछि सभामुख घिमिरेले शब्दमा अध्ययन गरेर आवश्यक निर्णय गर्ने अधिकार सचिवालयलाई दिएका थिए । माओवादीले उठेर संसद् अवरोध गरेपछि एमाले र माओवादी केन्द्रका सांसदहरूबीच भनाभन भएको छ। बैठकमा माओवादीले कार्यसूचीमा प्रवेश गर्न नदिएपछि बैठक स्थगित भएको थियो ।
आजको बैठकमा १४ जना सांसदले बोलेको पाण्डेले बताए । माओवादीले बागलुङमा जीप दुर्घटनामा मृत्यु भएका रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा,वडा नम्बर- २ का वडा अध्यक्ष जसबहादुर कामी र उपाध्यक्ष बुढाको आमा गोपिमाया बुढाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।