प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्राम गर्ने सुविधा नरहेको भन्दै तिव्रताका साथ सरकारका काम कारबाही अघि बढाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।
बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री तथा मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै उनले मन्त्रीहरुलाई कामको गति बढाउन र योजनाबद्ध कामहरू गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले अब कार्यक्षेत्रमा थप योजना र थप सक्रियताका साथ अघि बढ्नुपर्ने जिकिर गरे । उनले मन्त्रालयबीच एक अर्कालाई सहयोग गर्ने भावना हुन जरुरी रहेको बताए ।
ओलीले भने, ‘हामीसँग ढिलो गर्ने सुविधा पनि छैन, अलमल गर्ने सुविधा पनि छैन । विश्राम गर्ने सुविधा पनि छैन । हामीले अत्यन्तै तिब्र गतिले काम अघि बढाउनुपर्ने छ । हामे गतिमा तिब्रता चाहिन्छ । काममा योजनावद्धता चाहिन्छ । पारस्परिक एक अर्कामा साथ र सहयोग चाहिन्छ । एउटा र अर्को मन्त्रालय बीचको कोर्डिनेशन र कतिपय कुरा डुब्लिकेसन नहोस् । अधिकार, काम, खर्चको डुब्लिकेसन । त्यही एउटै चिज यसले पनि गर्ने, उसले पनि गर्ने भन्दा कसले गर्ने टुंगो नलाग्ने स्थिति बन्नु हुँदैन । जिम्मेवारीलाई पनि स्पष्टताका साथ कार्य सम्पादन गर्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आ-आफ्नो मन्त्रालयका समस्या पहिचान गरी समाधान गर्न पनि निर्देशन दिए । उनले सरकारको मूलभूत नीति र कार्य योजनाअनुसार कार्यसम्पादन सम्झौता भएको भन्दै कति अवधिभित्र कुन कुन मन्त्रालयले कति काम गरिसक्ने ? भन्नेमा प्रस्ट हुनका लागि सम्झौता गरिएको बताए ।
प्रधानमन्त्रीसँग मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरुले सम्बन्धित सचिवहरुसँग कार्यसम्पादन सम्झौता गर्ने योजना रहेको छ । लक्षित उपलब्धि समयमा हासिल गर्न र सेवा प्रवाहमा चुस्तता ल्याउन तथा अनुगमन र मूल्यांकन गर्न यस प्रकारको सम्झौताको पद्धति प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ भएको थियो।
नेपाल बाहिर रहेका कारण आज अनुपस्थित संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री, वन तथा वातावरण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसँगको कार्यसम्पादन सम्झौतामा पछि सम्पन्न हुने छ।