पोखरा महानगरपालिका –८ बगालेटोलमा श्रीमानले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भइ हाल बगालेटोल बस्ने ४२ वर्षीय जहरसिंह कुँवरले बुधबार श्रीमती राधिकाको हत्या गरेका हुन् ।
खुकुरी प्रहारबाट राधिकाको घाँटी र पेटमा गम्भिर चोट लागेको थियो । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा १२:४४ बजे मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले बताए ।
मध्याह्न १२ बजेतिर राधिका चिच्याएको आवाज आएपछि घरबेटी गएर हेर्दा जहरसिंहले श्रीमतीलाई खुकुरी प्रहार गरिरहेको देखेका थिए । घरबेटीले खबर गरेपछि तत्कालै वडा प्रहरी कार्यालय बैदामको टोलीले जहरसिंहलाई पक्राउ गरी राधिकालाई अस्पताल पुर्याएको थियो ।
प्रहरीका अनुसार सामान्य विवाद भएपछि जहरसिंहले श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए । जहरसिंहलाई खुकुरी सहित नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको एक छोरा छन् ।