सभामुखको रुलिङलाई माओवादीको चुनौती– हिंसा शब्द कुन संविधानमा लेखिएको छ ?

नेकपा माओवादी केन्द्रले सभामुखको निर्णयमाथि चुनौती खडा गरेको छ । सभामुख देवराज घिमिरेले ‘हिंसा भन्ने शब्द असंसदीय शब्द नदेखिएको हुँदा अभिलेखबाट हटाउनु नपर्ने’ निर्णय सुनाएका थिए ।

सभामुखको उक्त निर्णयपछि सदनमा आरोप प्रत्यारोप सुरु भएको थियो । अन्तिममा प्रतिपक्षका तर्फबाट बोल्न सभामुख घिमिरेले देवेन्द्रराज पौडेललाई बोल्न समय दिएका थिए । पौडेलले सभामुखको रुलिङमा चुनौती दिँदै संविधानमा हिंसा शब्द देखाउन आग्रह गरे ।

“सम्माननीय सभामुखले भन्नुभएको शब्दप्रति हामी सबैको गम्भीर आपत्ति छ,” पौडेलले भने, “तपाईंहरू सशस्त्र द्वन्द्व, त्यसपछिको शान्ति प्रक्रिया र त्यसका जगमा बनेको संविधान नमान्नु होला तर हामी मान्छौँ ।”

पौडेलले संविधान विपरीत जाने छुट कसैलाई पनि नभएको बताए । “टीआरसी सर्वसहमतिमा अघि बढेको छ । तर, तपाईंहरुले शान्ति प्रक्रियालाई बिथोल्न खोज्नुभएको हो ?,” प्रश्न गर्दै पौडेलले भने, “यो प्रकारको विगत बल्झाएर शान्ति प्रक्रिया बिथोल्ने गरी शब्द प्रयोग नहुन् ।”

उनले कानुन, नियम र प्रणाली विपरीतका शब्द प्रयोग नगर्न सभामुखलाई आग्रह गरे । माओवादी आन्दोलनलाई शसस्त्र संघर्ष भनेर स्वीकार गरेको भन्दै सभामुखको अभिव्यक्ति आपत्तिजनक भएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार