सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने बताएका छन् । उनले सोही रूलिङ आगामी दिनमा शब्द छनोट गर्दा ध्यान दिन अनुरोध गरे ।
भदौँ १२ गते बसेको संसद्को बैठकमा एमाले सांसद योगशे भट्टराईले माओवादी जनयुद्धलाई हिंसाको टिप्पणी गरेका थिए । त्यसपश्चात् सदन निरन्तर घोचपेचमा चलेको थियो । त्यसबेला सभामुख देवराज घिमिरिले शब्दमा अध्ययन गरेर आवश्यक निर्णय गर्ने अधिकार दिएका थिए ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सचिवालयको निर्णय सुनाउँदै उनले हिंसा शब्द हटाउन नपर्ने बताएका थिए । उनले उक्त शब्द असंसदीय नभएको बताए ।
सभामुखको निर्णयपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको निर्णय गलत भएको बताएका थिए । त्यसपछि सभामुखले एमाले नेता रघुजी पन्तलाई बोल्न दिए ।
पन्तले बोलेपछि पुनः माओवादी सांसद माधव सापकोटाले बोल्न समय मागेका थिए । सभामुखले यस विषयमा वादविवाद नगरौं भन्दै बोल्न नदिएपछि माओवादी सांसदहरु सिटबाट उठेर संसद अवरोध गरेका छन् ।