सरकारी कर्मचारी पढेलेखेका गुण्डा हुन्ः निर्माण व्यवसायीहरू

निर्माण व्यवसायीहरूले सरकारी कर्मचारी पढेलेखेका गुण्डा भएको आरोप लगाएका छन् ।

मंगलबार बागमती प्रदेश निर्माण व्यवसायी महासंघको दोस्रो अधिवेशनमा बोल्दै निर्माण व्यवसायीहरूले सरकारी कर्मचारी निलो पाइन्ट र सेतो सर्ट लगाउने पढेलेखेका गुण्डा भएको आरोप लगाएका हुन् ।

निर्माण व्यवसायीहरूको असली दुश्मन सरकार भन्दा पनि कर्मचारी भएको उल्लेख गरे । उनीहरूले निजामती कर्मचारीहरूले अघिल्लो पुस्ताका निर्माण व्यवसायीहरूलाई पनि दुःख दिएको र अहिले पनि सुधार नभएको दाबी गरे ।

कतिपय व्यवसायीहरूले भने निर्माण व्यवसायीहरूका भुक्तानी,म्याद थप,सार्वजनिक खरिद नियमवाली लगायतका विषयमा एकतावद्ध भएर लाग्न आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै निर्माण व्यवसायी निकोलस पाण्डेले निर्माण व्यवसायीहरूको असली दुस्मन भनेको नेपाल सरकारका निजामती कर्मचारी भएको आरोप लगाए ।

उनले भने,’ निर्माण व्यवसायीहरूको असली दुस्मन भनेको नेपाल सरकारका निजामती कर्मचारीहरू हुन । यिनीहरू भनेको निलो पाइन्ट र सेतो सर्ट लगाउने पढेलेखेका गुण्डा हुन् । यिनीहरूले हाम्रो बुबाहरूलाई पनि दुःख दिए । आजको दिनसम्म पनि दुःख दिइरहेका छन् ।

उनले निर्माण व्यवसायीहरूले हरेक काम गर्दा निजामती कर्मचारीलाई पैसा घुस दिँदा व्यवसायीहरू घर खेत विहीन भएको बताए ।

उनले भने,’ निर्माण व्यवसायीहरूले आयोजनाहरूमा ठेक्का हाल्न पैसा दिनुपर्छ । ठेक्का परेपछि ठेक्का हस्ताक्षर गर्न पैसा दिनुपर्छ । हस्ताक्षर भएपछि काम शुरु गर्दा पैसा दिनुपर्छ । बिल बनाउन समेत पैसा दिनुपर्छ । आयोजनाहरूको म्याद थप गर्न समेत पैसा लिन्छन् । यसरी कर्मचारीहरूले निर्माण व्यवसायीहरूलाई घर खेती विहीन बनाएको छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार