प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले अवकाश पाएका छन् ।
एआईजीको ५६ वर्षे उमेरहदका कारण ज्ञवालीले मंगलबारदेखि अनिवार्य अवकाश पाएका हुन् । ज्ञवालीलाई मंगलबार प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बिदाइ गरेका छन् ।
ज्ञवाली आईजीपी कुँवरकै ब्याची हुन् । ज्ञवाली प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागका कार्यरत थिए । यसअघि उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत थिए । सीआईबी हुँदा भने उनको कार्यकाल विवादरहित हुन सकेन ।
उनलाई सीआईबीबाट प्रधान कार्यालय सरुवा गरेर छानबिन नै अघि बढाएको थियो । तर, एआईजीमाथि छानबिन गर्न एआईजीको नेतृत्वमै समिति बनेका कारण अनुसन्धान प्रक्रिया नै अघि बढेन । छानबिन प्रतिवेदन भने आईजीपीलाई बुझाइसकेको छ ।
सेवा निवृत्त जीवन पश्चात पनि संगठनको हितको लागि सदैव रचनात्मक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
ज्ञवालीले बिदाइ कार्यक्रममा आफ्नो सेवा अवधिका अनुभव सुनाएका थिए । ज्ञवाली एआईजीको उमेर हदका कारण ३० वर्षे सेवा अवधि अघि नै अवकाश भएका हुन् । उनी प्रहरीमा भर्ना भएको आगामी चैत ५ गते मात्रै ३० वर्ष पूरा हुन्छ ।