पोखरामा सहकारी पीडितलाई रविले भने : तपाईँहरु गलत मान्छेलाई टार्गेट गर्दै हुनुहुन्छ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडितलाई अरुले नै उचालेर आन्दोलन गरेको टिप्पणी गरेका छन् ।

मंगलबार पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकमा उनले कसैले उचालिदिएको भरमा आफूविरुद्ध प्रदर्शन भएको बताए । उनले सहकारी पीडितहरुलाई भने, ‘गलत मान्छेलाई टार्गेट गरेर तपाईँहरु अपराध गर्दै हुनुहुन्छ ।’

सभापति लामिछानेले सहकारी पीडितहरुले अपराधमा संलग्न नरहेको मान्छेविरुद्ध कसैले उक्साएको भरमा विरोध गरेको बताए । रास्वपामाथि राजनीतिक पूर्वाग्रह राख्नेहरुले सहकारी भनेको रवि लामिछाने हो भन्ने भाष्य निर्माण गरिदिएको उनको आरोप छ । लामिछानेले अगाडि भने, ‘हामीमाथि पूर्वाग्रह राख्नेहरुले, राजनीतिक दाउ सेक्नेहरुले सहकारी भनेको रवि लामिछाने हो भनेर भाष्य सिर्जना गरेर तमाम सहकारी पीडितमाथि अन्याय गरेको छ ।’

गोर्खा मिडियामा कार्यरत रहँदा कसरी रकम आएको छ भन्ने कुरा आफूलाई केही थाहा नभएको उनले बताए । लामिछानेले आफू गोर्खा मिडियाको लगानीकर्ता र एकाउन्टेन्ट नभएर तत्कालीन समयमा सञ्चारकर्मीको भूमिका निर्वाह गरेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार