उपसभामुखको बचाउ गर्दै पौडेलले भने : दशौँ मन्त्रीमाथि प्रश्न उठेका छन्, राजीनामा दिन तयार हो ?

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले उपसभामुखमाथि महाअभियोग लगाउनुले लोकतन्त्रको संरक्षण हुन नसक्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले उपसभामुखलाई हटाउने कुरा संसदमा प्रवेश हुनु दुःखदायी भएको बताए ।

उनले सहमतिको आधारमा उपसभामुख बनेकी इन्दिरा रानालाई हटाउनुले लोकतन्त्र अगाडि बढ्न नसक्ने धारणा राखे । उनले यसरी हटाउने प्रवृत्तिले लोकतन्त्रको संरक्षण, विकास र सहकार्यको प्रणाली अगाडि बढ्न नसक्ने दाबी गरे ।

प्रश्न उठ्नासाथ राजीनामा दिनुपर्ने भए मन्त्रीहरूबारे पनि धेरै प्रश्नहरु रहेको उल्लेख गरे । पौडेलले सरकारका मन्त्रीमाथि भूटानी शरणार्थी, बालुवाटार जग्गा र गिरिबन्धु टी–स्टेट प्रकरणमा प्रश्न उठेको भन्दै राजीनामा दिन तयार हो भनि प्रश्न गरे ।

उनले भने, ‘एकजना महिला, जनजाति सहमतिको आधारमा आउनुभएको । सामाजिक सेवामा काम गर्नुभएको उपसभामुखलाई बलियो भनेको दुई तिहाई सरकारले हटाउने कुरा सदनमा प्रवेश हुने कुरा निकै दुःखदायी छ । यसले लोकतन्त्र अगाडि बढ्न सक्दैन । यसले लोकतन्त्रको संरक्षण र विकास, सहकार्यको प्रणाली यो देशमा अगाडी बढ्न सक्दैन । त्यसो नगर्नको निम्ति हामी खबरदारी गर्न चाहन्छौँ । प्रश्न उठेर राजीनामा दिने हो भने दशौँ मन्त्रीका प्रश्न उठेका छन् अहिले । राजीनामा दिन तयार हुनुहुन्छ ?’

उनले थपे, ‘लाउडामा प्रश्न उठ्यो । वाइडबडीमा प्रश्न उठ्यो । भुटानी शरणार्थीमा प्रश्न उठ्यो । बालुवाटार जग्गा प्रकरणमा प्रश्न उठ्यो । गिरिबन्धु टी स्टेटमा प्रश्न उठ्यो । राजीनामा दिन तयार हुनुहुन्छ ? छानबिन होस् । एकजना सामाजिक सेवाबाट आएको उपसभामुखलाई चारै तिरबाट शक्तिको प्रयोग गर्ने ?’

उनले उपसभामुख रानालाई नडराउन आग्रह गर्दै माओवादी केन्द्र साथमा रहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार