कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन बस्ने तयारी गरेको स्थानलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ ।
कार्कीले विराटनगरको देवकोटाचोकस्थित प्रदेशसभा भवन अगाडिको सडकमा मंगलबार दिउँसो ४ बजेदेखि अनसन बस्ने घोषणा गरेका थिए । जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार दिउँसो साढे १ बजे सूचना प्रकाशन गर्दै आज दिउँसो ३ बजेदेखि लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरेको हो ।
प्रदेशसभा सचिवालय आसपास देवकोटा चोकदेखि अस्पताल चोकसम्म, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय आसपास, मुख्यमन्त्री निवासको ३०० मिटर वरपर, प्रदेश प्रमुखको कार्यालय र निवास आसपास ३०० मिटर र जिल्ला प्रशासन कार्यालय आसपास निषेधित क्षेत्र घोषणा गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
‘विराटनगरलाई केन्द्रविन्दु बनाई हुनसक्ने अनसन लगायत विरोधका कार्यक्रमलाई मध्यनजर राखी उक्त गतिविधिबाट शान्ति सुरक्षामा असर पर्न सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवं सामान्य तुल्याई राख्न जिल्ला सुरक्षा समिति, मोरङको निर्णयानुसार हाललाई मिति २०८१।०५।२५ गते १५ः०० बजेदेखि अर्को आदेश नभएसम्मको लागि निम्न स्थानहरूमा सर्वसाधारण तथा सवारी साधन आवत जावत बाहेक कुनैपनि किसिमको सभा, जुलुस, भेला, र्याली, धर्ना, प्रदर्शनी लगायत विरोधजन्य कार्यहरू गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेध गरिएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ, ‘यो आदेशको उलंघन गरी उल्लेखित कार्यहरू गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने ब्यहोरा जानकारी गराइन्छ ।’