राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरामा सहकारीपीडितहरूले कालो झण्डा देखाएका छन् ।
पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुने आएका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई पोखराको बिरौटामा सहकारीका बचतकर्ताले कालो झण्डा देखाएका हुन् ।
रास्वपा गण्डकी प्रदेशको विस्तारित बैठक बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटमा चलिरहेको छ । बैठकस्थलमा छिर्ने क्रममा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले लामिछानेलाई कालो झण्डा देखाएका हुन् । प्रदर्शनकारीले बैठकस्थलबाहिर सहकारी ठगलाई राजनीतिक संरक्षण मिलेको भन्दै नाराबाजी गरिरहेका छन् ।
बैठकमा सुरक्षाकर्मी बाक्लो रूपमा तैनाथ गरिएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसहित सहकारीका पूर्व र वर्तमान सञ्चालक तथा कर्मचारी गरी १९ जनालाई प्रतिवादी बनाएर प्रहरीले १ अर्ब ११ करोड रुपैयाँ बिगो मागदाबीसहित २०८० असोज १८ मा कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
सुरुको अनुसन्धानमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशसहित शंकास्पद भूमिकामा देखिएका व्यक्ति अनुसन्धानको दायरामै आएका थिएनन् । सहकारीपीडितले गत माघमा पूरक जाहेरी दिएका थिए भने पोखरा महानगरपालिकाले पनि अध्ययन गराएको थियो । महानगरको अध्ययन प्रतिवेदनमा लामिछानेसहितका व्यक्तिका नाम किटान गरिएको छ ।