गंगालालमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण सुरु

राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ । अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरुको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता आज गरिएको हो ।

मंगलबार बिहान प्यारा ओलम्पिकमा कास्य पदक विजेता पलेसा गोवर्द्धनको स्वास्थ्य परीक्षण गरेर यो कार्यक्रमको सुरुवात गरिएको छ ।

गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशका लागि खेल्ने खेलाडीहरुको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितीमा मन्त्रालय, युवा तथा खेलकुद राष्ट्रिय खेलकुद परिषद राखेप र अस्पतालकाबीच खेलाडीको मुटु परीक्षण हरेक वर्ष निःशुल्क मुटु परीक्षणसम्बन्धी सम्झौता गरिएको हो ।

सम्झौतामा हरेक वर्ष निःशुल्क मुटु परीक्षण गरिने उल्लेख छ । सम्झौताअनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन गंगालालले आफ्नै श्रोतबाट गर्नेछ ।

हाल केन्द्रकै तर्फबाट खेलाडीको निःशुल्क परीक्षण हुँदै आएको छ । आगामी वर्षबाट थप वार्षिक कार्यक्रम बनाएर खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षणलाई अझ व्यवस्थित बनाइने मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ ।

सम्झौता हरेक वर्ष नवीकरण गर्नेसमेत व्यवस्था गरिएको छ । घोषणाबाट देशका तर्फबाट अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सहभागी हुँदै आएका राष्ट्रिय टिमका ७ सय ५७ जना खेलाडी लाभान्वित हुनेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार