सरकारको पक्षमा एकढिक्का हुने सत्तारुढ दलहरुको निष्कर्ष

काठमाडौं । सत्ता साझेदार दलहरुले सरकार र संसदलाई प्रभावकारी बनाउन एकढिक्का भएर उभिने निष्कर्ष निकालेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्तारुढ दलहरुको बैठकले सत्ताको पक्षमा एकढिक्का भएर उभिने निष्कर्ष निकालेका हुन् ।

‘सरकारको पक्षमा दलहरु एकढिक्का भएर उभिने निष्कर्षमा पुगेका छौ’, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बैठकपछि भने । उनका अनुसार सत्ता साझेदार दलहरु एकढिक्का भएर उभिनकै निम्ति न्यूनतम साझा कार्यक्रम तयार पार्ने गृहकार्य सुरु भएको हो ।

‘एमाले र हाम्रो बीचमा सात बुँदे भइसकेकै थियो । तर त्यही सात बुँदेलाई आधार मानेर न्यूनतम साझा कार्यक्रम बनाउँछौं । यसले सबैलाई एकढिक्का उभ्याउँछ’, उनले भने । प्रमुख सचेतक घिमिरेले केही दिनभित्रै न्यूनतम साझा कार्यक्रम तयार हुने बताए ।

आइतबार साँझ कांग्रेस र एमालेका नेताहरुको बैठकबाटै न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदल गठन भइसकेको छ । कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत, एमालेका उपमहासचिवद्वय प्रदीपकुमार ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको मस्यौदा समिति गठन भएको छ ।

प्रमुख सचेतक घिमिरेले कार्यदलबाट बन्ने मस्यौदामाथि अरु सत्ता साझेदार दलहरुको धारणा पनि राखिनेछ । तर प्रमुख दल कांग्रेस र एमाले नै भएकाले दुई दलका नेताहरु रहेको मस्यौदा कार्यदल बनेको उनले बताए ।

कार्यदल बनेको भोलिपल्ट, आज सत्तारुढ अरु दलहरु जसपा, लोसपा, जनमत पार्टी र नाउपाका नेताहरु सहितको बैठक बोलाइएको थियो । बालुवाटारमा झण्डै तीन घण्टा चलेको छलफलपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि कांग्रेसकै घिमिरेसँग मिल्दो निष्कर्ष सुनाएका छन् ।

‘संसद र सरकारको कामलाई कसरी प्रभावकारी बनाउने, सन्तुलित र व्यवस्थित ढंगले अघि बढ्ने विषयमा छलफल भयो,’ बर्तौलाले भने, ‘सरकारका सबै काममा सिंगो सत्तापक्ष एकीकृत धारणाका साथ अघि बढ्ने कुरा पनि भयो ।’

उनले यो सरकार निर्माणका क्रममा भएको ७  बुँदे समझदारीका आधारमा काम गरेर अघि बढ्ने प्रतिबद्धता दुवै दलका नेताहरूले गरेको बताए ।

‘हामीले त्यहीअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छौं,’ उनले भने, ‘संविधान संशोधनको कुरा पनि छ । त्यसबारे प्रतिपक्षी दलले अफवाह फैल्याएको छ र त्यसको भ्रम दुवै दल लाग्ने विषयमा छलफल भयो ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार