सरकार गठन भएको झण्डै दुई महिनापछि पहिलोपटक सत्तारूढ दलहरूको बैठक बसेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको सचिवालयले जनाएको छ। सरकारले ल्याउने सरकारको न्यूनतम् साझा कार्यक्रम लगायतका विषयमा छलफल गर्न सत्तारुढ दलको बैठक बस्न लागेको हो।
त्यस्तै, बैठकमा अन्य समसामयिक विषय र सरकारका काम कारबाहीबारे छलफल हुने बताइएको छ। बैठकमा सहभागी हुन नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन कुमार थापा सहभागी छन्।
यसअघि आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो। सोही छलफलअनुसार सत्तामा रहेका दलहरूको बैठक बोलाइएको हो। असार ३१ गते गठन भएको सरकारमा एमालेका साथै कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी छन्।
आइतबार मात्र कांग्रेस र एमालेले सरकारका न्युनतम साझा कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल बनाउने सहमति गरेका छन्। कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशरण महत रहनेछन्। यस्तै एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल हुने भएका छन्।
असार १७ गते मध्यराति कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच सत्ता सहकार्य गर्ने सहमति भएको थियो। असार ३१ गते ओलीको नेतृत्वमा सरकार गठन भएको हो।