लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी एकै दिनमा रिहा भएका छन् । कानूनअनुसार कैदको सट्टामा रकम तिरेर उनी रिहा भएका हुन् । आइतबार अदालतमा आत्मसमर्पण गरेका उनी कारागार पठाइएपनि भित्र नबसी बाहिरै बसेका थिए ।
रुकुम पूर्वबाट निर्वाचित कांग्रेस सांसद केसी कागजात किर्ते मुद्दामा दोषी ठहर भएका थिए । एक वर्ष जेल सजाय र २ हजार जरिवाना तोकिएका सांसद केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालतमा उपस्थित भएका थिए ।
उनले सोमबार फौजदारी अपराधसंहिता २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रुपैयाँ तिरेर रिहा भएका हुन् ।
श्रीमतीसँगको अंश मुद्दामा किर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई ०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो ।
अदालतबाट दोषी ठहर भएका केसीलाई आइतबार नै कारागार चलान गर्न भनिएको थियो । तर पूर्व रुकुममा कारागार नभएकाले उनलाई रुकुम पश्चिमको कारागारमा पठाइएको थियो ।