सरकारले कम्पनी तथा फर्महरूलाई दिने स्टार्टअप कर्जाका लागि हालसम्म झन्डै साढे पाँच सयको आवेदन परेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले यही भदौ ११ गते आवेदन खुलाएको थियो ।
यसै महिनाको ३१ गतेसम्म अनलाइन तथा प्रतिष्ठानमै कर्जाका लागि परियोजना प्रस्ताव पेश गर्न सकिन्छ । प्रतिष्ठानका सूचना अधिकारी विश्वनाथ घिमिरेले अनलाइनबाट चारसय र भौतिकरूपमा १५० गरी साढे पाँच सय आवेदन परेको जानकारी दिए । गत वर्ष करिब १६ सय आवेदन परेकामा यस वर्ष त्योभन्दा बढी कम्पनी तथा फर्मले प्रस्ताव पेश गर्न सक्ने प्रतिष्ठानको आकलन छ ।
‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ अनुसार १० वर्ष ननाघेका र वार्षिक कारोबार १५ करोड रुपैयाँभन्दा कम रहेका कम्पनीले सहुलियत कर्जाका लागि आवेदन दिन सक्छन् ।
५ देखि २५ लाखसम्म तीन प्रतिशत ब्याजदरमा मिल्ने कर्जा एक वर्षपछि भुक्तानी सुरु गरेर पाँच वर्षमा सरकारलाई फिर्ता भुक्तान गरिसक्नुपर्छ ।