पाँचथर बम विष्फोटको घटनाबारे संसदलाई जानकारी गराउन एमालेको माग

सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले पाँचथरको बम विष्फोटको घटनाबारे तत्काल संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले यही भाद्र १३ गते पाँचथरमा बेवारिसे बम विष्फोटमा एकै घरका २ जना बालबालिकाको ज्यान गएको र २ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल जानकारी गराउन गृहमन्त्री रमेश लेखकसँग जवाफ माग गरेका हुन् ।

उनले भने, ‘यो घटनामा सरकारले सदनमा आएर जवाफ दिनुपर्छ । यतिका समयमा समेत यो घटनामा जोडिएका दोषी को हो ? यस्तो गम्भीर प्रकृतिको घटनामा गृहमन्त्रीले संसदमा आएर जवाफ दिन माग गर्न चाहन्छु ।’

प्रमुख सचेतक बर्तौलाले सो बेवारिसे बम तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका बेला बेवारिसे अवस्थामा छोडिएको कुरा विभिन्न समाचार माध्यममा आएको उल्लेख गर्दै त्यसबारे सम्बन्धित पक्षले जिम्मेवारी लिनुपर्ने जिकिर समेत गरे ।

बर्तौलाले यस्ता बेवारिसे बम विष्फोटको घटनालाई सरकारले गम्भिरतापूर्वक लिई अनुसन्धानको कामलाई तीव्रता दिनुपर्ने बताए ।

उनले भने, ‘हामीले यो छापा मिडियाहरुमार्फत सुन्यौँ, थाहा पायौं कि यो विशेष गरी सशस्त्र द्वन्द्वकै समयमा बिछयाइएको बमहरु, छोडिएका बमहरु, फ्याँकिएका बमहरु नै अहिले आएर विष्फोट भयो । यदि त्यसो हो भने सम्माननीय सभामुख महोदय, यो घटनाप्रति जवाफदेही को हुनुपर्ने हो ? कसले जिम्मा लिनुपर्ने हो ? सामान्य तया राज्य पक्षबाट यस प्रकारको बेवारिस बमहरु छोडेर हिँडने हामी देख्दैनौं, सुन्दैनौं । त्यतिबेलाका द्वन्द्वको एउटा पक्षबाट यस प्रकारका बेवारिसे बमहरु विभिन्न ठाउँमा छोडिएको हो भने सम्बन्धित पक्षले यसको बारेमा जिम्मेवारी लिनुपर्छ ।’

प्रमुख सचेतक बर्तौलाले तत्कालीन विद्रोही पक्ष माओवादीले देशका कुनकुन ठाउँमा बेवारिसे अवस्थामा त्यस्ता बमहरु राखेको छन् ? भन्ने कुराको खोजीमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार