गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन । बिहिबार महेन्द्रनगरमा पत्रकार सम्मेलनमा बोल्दै उनले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताएका हुन्। ‘यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु यो घटनाको सुक्ष्म ढंगले अनुसन्धान हुन्छ,’ उनले भने।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो। कार्यक्रममा गृहमन्त्री लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रुपमा विकास गर्ने पनि बताए।
‘कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ,’ उनले भने, ‘उनले भने, ‘निकट भविष्यमा नै दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय भएको छ, यसले चीन संग जोड्छ।’
गृहमन्त्री लेखकले दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्ण गर्न भारत तयार रहेको पनि बताए। ‘दुई\तीन महिनाभित्रै सुख्खा बन्दरगाह निमार्णका लागि भारतले टेन्डर आह्वान हुन्छ। काम छिट्टै हुन्छ,’ उनले भने।
मन्त्री लेखकले कांग्रेस र एमालेबीच भएको सहमति कार्यान्वयनमा शंका नगर्न आग्रह पनि गरे। ‘दुई दलबीच सात बुँदे सहमति भएर सरकार निमार्ण भएको छ,’ उनले भने, ‘यो गठबन्धन आगामी चुनावसम्मै जान्छ यसमा ढुक्क हुनुस्।
तीन दिने भ्रमणमा गृहजिल्ला पुगेका मन्त्री लेखकले कञ्चनपुरमा दुईवटा प्रहरीका भवन उद्घाटन गरेका छन्।