काठमाडौँमा होली खेल्ने क्रममा एसिड छ्यापियो, तीनजना घाइते

काठमाडौँको साँखुमा होली खेल्दा रंगमा पानीको साटो एसिड मिसाएर छ्याप्दा ३ जना घाइते भएका छन् । शंखरापुर नगरपालिका–१ मा होली खेल्ने क्रममा उसिड छ्याप्दा १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक घाइते भएका हुन् ।

घाइतेहरुको साँखु स्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । किशोरीको अनुहार र दुवै बालकको हातमा एसिड परेको थियो ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी अशोक सिंहका अनुसार पानी सम्झेर एसिड प्रयोग गर्दा यो घटना भएको हुन्सक्ने बताएका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले १७ वर्षका पवन पहाडी र १८ वर्षका आकास तामाङलाई पक्राउ गरेको छ ।

आरोपी र घाइतेहरुको बीचमा सामान्य चिनजान थियो । होली खेल्ने क्रममा पानी मागेपछि ९ वर्षका बालकले ग्यालिन लगिदिएका थिए । प्रहरीका अनुसार डेरीमा दुधको फ्याट नाप्न प्रयोग हुने एसिड ग्यालिनमा थियो । होली खेल्दै डेरीमा पुगेका युवाहरुले पानी माग्दा ग्यालिनमा भएको एसिड परेको बताइएको छ ।

घटनापछि सरस्वती दुग्ध उत्पादन सहकारी संस्थाका संचालक ४४ वर्षीय केशव नेपाललाई पनि पक्राउ गरिएको एसएसपी सिंहले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार