ब्रुनाई र सिंगापुर भ्रमणका लागि प्रस्थान गरे मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार (आज) ब्रुनाई र सिंगापुरको तीनदिने भ्रमणका लागि प्रस्थान गरेका छन् ।

ब्रुनाईपछि प्रधानमन्त्री मोदी सिंगापुर जानेछन् । यो भ्रमण सेप्टेम्बर ४-५ को बीचमा हुनेछ । मोदीले एक्समा लेखेका छन्, ‘म आगामी दुई दिनमा ब्रुनाई र सिंगापुरको भ्रमण गर्नेछु । भारतसँगको सम्बन्धलाई मजबुत बनाउने कुरामा ध्यान केन्द्रित हुनेछ । भारत र ब्रुनाईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पूरा भएको छ । सुल्तान हाजी बोल्कियाहसँग भेट गर्नेछु ।’

उनले अगाडि लेखेका छन्, ‘सिंगापुरमा म राष्ट्रपति थर्मन शान्मुगरत्नम, प्रधानमन्त्री लरेन्स वोङ, वरिष्ठ मन्त्री ली सिएन येउङ र गोह चोक टोङसँग कुरा गर्नेछु।’

मोदीको भ्रमण कति महत्त्वपूर्ण ?
भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री मोदीको ब्रुनाई भ्रमण रक्षा साझेदारीका लागि महत्त्वपूर्ण छ । दुवै देश यस क्षेत्रमा सहयोगका लागि संयुक्त कार्यदल गठन गर्न चाहन्छन् ।

भारत र ब्रुनाईले ऊर्जा क्षेत्र र अन्तरिक्ष क्षेत्रमा पनि सहयोग विस्तार गर्ने अपेक्षा गरिएको छ । भारत र ब्रुनाईबीच सन् १९८४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो र यो वर्ष सम्बन्धले ४० वर्ष पूरा गरेको छ ।

हाल ब्रुनाईमा करिब १४ हजार भारतीय बस्छन्। ब्रुनाईमा बस्ने डाक्टर र शिक्षक ठूलो संख्यामा भारतीय हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार