स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज १५ गतेदेखि कोरोनाभाइरसको तेस्रो लहर सुरु हुनसक्ने बताएको छ ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै असोज १५ देखि संक्रमणको तेस्रो लहर आउन सक्ने जनाएको हो ।
बैठकमा बोल्दै मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आगामी पाँच महिनामा १ लाख ९३ हजार ८५६ जना नयाँ संक्रमित थपिने समेत जानकारी दिए । सो अवसरमा उनले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले गरेका प्रयासहरुको संक्षिप्त विवरण प्रस्तुत गरेका थिए ।
हालसम्म १४ लाखलाई कोरोनाविरुद्धको खोप लगाइएको र २४ लाखले एक डोज खोप लगाएको उनले जानकारी दिए ।
अर्यालले ९७ लाख डोज खोप शुक्रबारसम्म आउने र असोजसम्म ३३ प्रतिशतसम्मले खोप लगाउने दाबी गरे । चैतसम्म २ करोड ६५ लाखलाई खोप लगाउने लक्ष्य राखिएको उनले बताएका छन् ।