लुम्बिनीकी सांसद ढेंगा हराएको भन्दै प्रहरीमा उजुरी दर्ता, एमालेमाथि अपहरणको आरोप

लुम्बिनी प्रदेश सभा सदस्य पुरमती ढेंगा मगर हराएको भन्दै उजुरी दर्ता भएको छ । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षकी नेत्री उनी बेपत्ता रहेको भन्दै पार्टीले आइतबार इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको हो ।

जसपा संसदीय दलका नेता सहसराम यादवले सांसद ढेंगामगर सम्पर्कमा नरहेकाले खोजबिनका लागि प्रहरीमा निवेदन दिएको बताएका छन् । ।

केही दिनदेखि जनता समाजवादी पार्टीका सांसद कपिलवस्तुको तौलिहवास्थित एक होटलमा बस्दै आएका थिए । तर उनी आइतबार बिहान साढे ११ बजेदेखि पार्टीको सम्पर्कमा नरहेको जसपा संसदीय दलका नेता यादवले बताएका छन् ।

पाल्पाकी ढेंगा समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य चुनिएकी हुन् । सत्तारूढ एमालेले आफ्नो पक्षमा बहुमत पुर्‍याउन ढेंगलाई कब्जामा लिएको हुन सक्ने जसपाले जनाएको छ ।

गत असार ३१ गते सांसद ढेंगाले एमाले नेताहरुले आफूलाई कति पैसा चाहिन्छ लिनुस्, मन्त्री पनि बन्नुस् भनेर बारम्बार फोनमार्फत अफर गरेको तर अस्वीकार गरेको भनी कांग्रेस संसदीय दलको कार्यालयमा सबै नेता सामु जानकारी गराएको नेता यादवले बताएका छन् ।

जसपाले पुर्मतीलाई प्रदेश सरकारको नेतृत्व गरेको एमालेले मन्त्री बनाएर लैजाने नाममा अपहरण गरेको आरोप लगाएको छ । ८३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा एमालेका ३८ र जसपाका ३ जना गरी ४१ मत छ । विपक्षी गठवन्धनमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुख वाहेक) जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जना नै छन् ।

निर्णायक अवस्थामा सभामुखले मतदान गर्दा सरकार एक मतले अल्पमतमा पर्ने अवस्था छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार